संखुवासभा । नेवारी समुदायको इतिहास बोकेको मुख्य पर्व हिले जात्रा संखुवासभाको चैनपुर¸ खाँदवारी र पाँचखपनको वाना बजारमा शुक्रबार विषेश झाँकी सहितका कार्यक्रम आयोजना गरेर मनाइएको छ । जनै पुर्णिमाको दिन तासा नाचबाट सुरु भई ९ दिन सम्म इतिहास बोकेका विभिन्न परम्परागत कलाको झलक सहित कृष्ण जन्माष्टमीको भोलिपल्ट कंसले कृष्णलाई बद गरि अन्त्य हुने जात्रा पर्वमा देखाइने विभिन्न नाच पदर्शन गरेर सुरु गरिएको छ ।
चैनपुर नगरपालिका वडा नं ६ मा रहेको चैनपुर समाजसेवा युवा क्लव र परिवर्तनका लागि युवा भन्ने संस्थाद्वारा आयोजना गरिएको ‘संस्कृति¸ पर्यटन¸ कृषि र व्यापार प्रवर्द्धनका लागि चैनपुर जात्रा उत्सव २०८० को आयोजना गरेर चैनपुर नगर क्षेत्रभित्र रहेका विभिन्न जातजातिका रितिरिवाज, कला र सस्कृति, संरक्षण सम्बद्र्धन र उन्नती गर्ने उदेश्यका साथ चैनपुरको परम्परागत कला र सस्कृतिहरुको प्रस्तुती अन्तर्गत पञ्चेबाजा, खैँजडी बालन, तासा नाच, देवी नाच, धान नाच¸ डोकेनी नाच¸ तामाङ सेलो¸ लाखे नाँच, हनुमान नाच, मारुनी नाँच, रोपाइ नाच¸ धामी नाच एबं ब्यङयात्मक प्रहसन जस्ता कार्यक्रमहरु प्रदर्शन गरि सुरु गरिएको छ ।
नेवारी समुदायको इतिहास बोकेको परम्परालाई चैनपुरका नेवार समुदायले अहिलेसम्म कायम राखिरहेको र यस्ता संस्कृतिलाई प्रचार प्रसार र संरक्षण गराउने उद्धेश्यले चैनपुर¸ खाँदवारी र वाना बजारमा यस किसिमका कार्यक्रमका साथ हिले जात्रा निकालेर कार्यक्रमको संयोजन गर्दै आएको चैनपुर समास सेवा युवा क्लवका अध्यक्ष अध्यक्ष रञ्जन श्रेष्ठले बताए । चैनपुरको टुँडिखेलमा हराएको नेवारी खानाको परिकारलाई समेत हिजे जात्रा पर्वको अवसर पारेर नेवारी खाजा मिनी फेस्टिबलको रुपमा जात्रा हेर्न आउने दर्शकहरुलाई नेवारी परिकारका खाना खाने भिड देखिन्थ्यो । नेवारी समुदायको जात्रा उत्सव पर्वले नेपालको छुट्टै पहिचान बोकेको परम्परालाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्दै जानका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको नेवा दय दवु चैनपुरका अध्यक्ष पदम शाक्यले बताए ।
गाई जात्रा पर्वको भोलिपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसनका साथ हिले जात्रा पर्व दर्शकलाई रोमाञ्च बनाउनका लागि सञ्चालन गर्ने गरिन्छ । हिले जात्रा एउटा जात्रा भन्दा पनि बिसौनी हो, रोपाँईले थाकेका हातगोडा अनि हिलोसंग अघाएका मनहरु रोपाँई सकिएको खुशीमा चोक चौराहामा भेला भएर गर्ने जात्रा हो यो जस्लाई हामी हिले जात्रा भन्छौं ।
हिले जात्रा आजभोलि शहर बजार भन्दा पहाडी भेगका नेवारी बस्ती समुदायमा बढि प्रचलीत छ । नेवाः समुदायको इतिहास अनि सभ्यतासंग मूलभूत रुपमा जोडिएको यस जात्राको महत्व अनि सन्दर्भ बिशिष्ट छ । सामान्यतया हिले जात्राको मिति आआफ्नो ठाँउहरु अनुरुप तय गरिन्छ । संखुवासभाको चैनपुरमा गाईजात्रापछि भोलिपल्ट निकाल्ने गरिन्छ । हिले जात्रामा झाँकी, प्रहसन, रोपाँई अनि नाचको उत्कृष्ट समागम यस हिले जात्राको महत्व अनि तवर ठाँउ अनुसार फरक फरक हुन्छ ।
यस जात्राको इतिहास गएर मल्लकालिन समयसँग ठोकिन्छ, मल्लकालिन समयबाट उपत्यकामा गाइजात्रा र बाहिर हिले जात्राको क्रम नरोकी पछिल्लो पुस्ताहरुले पछ्याइरहेका छन् । लाखे नृत्य, अनि मान्छेहरुले जनावरको भेष लिएर नाच्ने, अरुलाई गिज्याउने, तर्साउने यस जात्राको महत्वपूर्ण अनि रमाइलो पाटो हो । चैनपुर, खाँदवारी¸ भोजपुर, धनकुटा लगायतका ठाँउहरुमा आआफ्नै हिले जात्राका मितिहरु रहेका छन् ।
भाद्र १५ गते शुक्रवार औपचारीक रुपमा नै हिले जात्राको सर्वमान्य मिति तोकिएको हो, आजको दिनवाट रोपाँई औपचारीक रुपमा नै सकिएको मानिन्छ, अब खेतमा रोप्न हैन गोडमेल गर्नका लागि मात्र गए पुग्छ । हिले जात्राको अनेक अनेक शुभकामना, जात्रा मनाउन भेला हुन नपाएपनि घरमा नै बसेर देवदेवताको अर्चना गर्दै अनि शुभेच्छा साटासाट गरेर यस दिवसलाई संझना गर्ने गरेको देखिन्छ । हिले जात्राकै अवसर पारेर चैनपुरको टुँडीखेलमा राष्ट्रिय स्तरका कलाकार सविन राई सहितको टोली चैनपुरको रात्रीकालिन कार्यक्रमलाई मनोरञ्जन दिन चैनपुरको टुंडीखेल आइसकेका छन् ।
प्रतिक्रिया