प्रधानमन्त्री दाहाललाई तरुण दल अध्यक्ष गुरुङको प्रश्न-‘गृहमन्त्री हटाउने कि तपाईं आफैं हट्ने ?’

प्रधानमन्त्री दाहाललाई तरुण दल अध्यक्ष गुरुङको प्रश्न-‘गृहमन्त्री हटाउने कि तपाईं आफैं हट्ने ?’


समयपथ
1.6k
Shares

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग दुईवटा मात्र विकल्प रहेको स्पष्ट पारेका छन् । दलले शुक्रबार आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, प्रधानमन्त्री दाहालले या गृहमन्त्रीलाई हटाउनुपर्छ अथवा आफै हट्नुपर्छ ।

‘केही दिनयताका घटनालाई विश्लेषण गर्दा यो देशका राजावादी र माओवादी एउटै हुन् कि जस्तो लाग्छ’ अध्यक्ष गुरुङले भने, ‘कांग्रेस नेतामाथि खुकुरी प्रहार हुँदा राजा आउ देश बचाउ भन्नेहरु कस्का मान्छे हुन् यो कुरा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्पष्ट पार्नुपर्छ ।

राणा शासन अन्त्य गर्दै जननायक विशेश्वरप्रसाद कोइरालाले क्रान्तिकारी युवालाई नेपाल तरुण दल नाम दिएको स्मरण गर्दै अध्यक्ष गुरुङले भने, बीपी कोइरालाले राजा महेन्द्रलाई भनेका थिए, नेपाली कांग्रेसको मेरुदण्ड भनेको तरुण दल हो, यसलाई चलाउन घातक हुन्छ ।’

‘नेपाल तरुण दलका संस्थापक अध्यक्ष बालकृष्ण खाँणलाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्ने जुन काम भयो, त्यो वर्तमान गृहमन्त्री श्रेष्ठको पहिलो प्रहार थियो । तत्कालिन गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेम राईको पालामा निर्णय भएको घटनामा वर्तमान सरकारले किन पक्राउ गर्न सक्दैन, यसको जवाफ हामीलाई चाहिन्छ’ अध्यक्ष गुरुङले भने, हामीलाई न्यायापालिकाप्रति विश्वास छ । न्यायपालिकाले यो घटनाको निरुपण गर्नेछ ।’

यसै साता हाम्रा नेतामाथि खुकुरी प्रहार मात्र होइन, हत्या नै गर्ने प्रयास भएको छ । राष्ट्रपतिलाई गोली हान्छु भन्ने व्यक्तिलाई प्रहरीको संरक्षणमा युट्युबमा अन्तर्वार्ता दिएको आरोप अध्यक्ष गुरुङले लगाए ।

तरुण दलको बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले शान्तिपूर्ण विरोध कार्यक्रम सार्वजनिक गरेको जानकारी दिँदै उनले गृहमन्त्री श्रेष्ठप्रति विश्वास छैन, तरुण दलका नेता कार्यकर्तामाथि हमला हुनसक्ने बताए । ताप्लेजुङ तरुण दल अध्यक्षमाथि मध्यरातमा प्रहरीकै संरक्षणमा हत्या प्रयास भएको उदाहरण अध्यक्ष गुरुङले दिए ।

वर्तमान सरकारले तरुण दलका नेता कार्यकर्तामाथि ठूलै षड्यन्त्र रचेको उनले बताए । यो सरकारलाई बोकेर अघि बढ्न नहुने भन्दै अध्यक्ष गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पार्टीका नेताहरुलाई सम्बोधन गर्दै भने, ‘सुरक्षाकर्मीको काँधमा बन्दुक राखेर तरुण दलमाथि आक्रमण गर्ने प्रयास भइरहेको छ ।’