खाँदबारी कैदी मृत्यु प्रकरणमा ७ प्रहरी र ८ कैदीविरूद्ध मुद्दा

खाँदबारी कैदी मृत्यु प्रकरणमा ७ प्रहरी र ८ कैदीविरूद्ध मुद्दा


समयपथ
460
Shares

संखुवासभा । जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । गत साउन २४ गते जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो ।

घटनामा संम्लग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले आज कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन् । कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरूद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र ईन्द्रध्वज घिमिरे विरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो ।

भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो ।

संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारका सुरक्षाकर्मी र केही कैदीबन्दीको यातनाबाट मृत्यु भएको घटनामा १५ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको सरकारी कार्यालयले जनाएको छ । प्रहरी हिरासतमा रहेका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव, कार्यालय सहयोगी ढकलाल कार्की, प्रहरी जवान अमृतबहादुर कार्की, मुकेश विक र मनोज सोङ्मी सरकारी साक्षीको रूपमा अदालतमा पेश हुने गरी रिहा भएको जिल्ला अदालतका संखुवासभाले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताए ।