उपत्यकाको उत्कृष्ट नगरपालिका बनेको चाँगुनारायणले लियो देशकै उत्कृष्ट बन्ने लक्ष्य

उपत्यकाको उत्कृष्ट नगरपालिका बनेको चाँगुनारायणले लियो देशकै उत्कृष्ट बन्ने लक्ष्य

नगर प्रमुख खत्री र प्रमुख प्रशासकीय अधिकृत पन्थीबीच कार्यसम्पादन मूल्यांकन करार सम्झौता


समयपथ
184
Shares

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले एकै दिन आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा, स्वीकृत वजेट २०८०/०८१ को वजेट पुस्तक सार्वजनिक,वार्षिक खरिद योजना सार्वजनिक र कार्यसम्पादन सम्झौता गरेको छ ।
चाँगुनारायण नगरपालिकाले शुसाशन, भौतिक विकास,चुस्त दुरुस्त सेवा प्रवाह र जनसरोकारका विषयलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दै आएको छ ।
चाँगुनारायण नगरपालिका आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका हिसावले काठमाडौं उपत्यकाकै उत्कृष्ठ नगरपालिका बनेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिए । गत वर्षको कार्यसम्पादनबाट उत्साहित बनेका प्रमुख प्रमुख प्रशासकीय अधिकृतले चालु आर्थिक वर्षमा नेपालकै उत्कृष्ट नगरपालिका बनाउने गरी अघि बढ्ने अठोट व्यक्त गरे ।

चाँगुनारायणको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन नगर प्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत पन्थीबीच कार्यसम्पादन मूल्यांकन करार सम्झौता भएको छ । प्रमुख प्रशासकीय अधिकृत पन्थी र १३ वटा शाखाका साथै ९ वटै वडा कार्यालयका सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । कार्यसम्पादन सम्झौतासँगै चाँगुनारायणका जनप्रतिनिधि र कर्मचारीहरुले आर्थिक वर्ष २०८०/०८१ मा देशकै उत्कृष्ट नगरपालिका बनाउने अठोट संकल्प लिएका छन ।कार्यसम्पादन सम्झौतामा एक वर्षमा गर्नुपर्ने क्रियाकलपहरु र हासिल गर्नुपर्ने उपलब्धी समेटिएको छ ।

नगर प्रमुख खत्रीले नगरपालिकालाई देशकै उत्कृष्ठ पालिका बनाउने उद्देश्य अनुरुप यो सम्झौता गरिएको बताए । कर्मचारी र जनप्रतिनिधिको आ-आफ्नो जिम्मेवारी र परिधि हुने भएकाले सबैले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । गत वर्षको बजेट कार्यान्वयन गर्ने सवालमा उपत्यकाकै सबैभन्दा बढी पूँजीगत खर्च गरेर उत्कृष्ठ बन्न सफल भएको, पहिलो बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको, स्वच्छ बायू गुणस्तर ब्यवस्थापन कार्याविधि २०८० मा नेपालकै पहिलो नगरपालिका बन्न सफल जस्ता धेरै उदाहरणीय र नमूना कार्यको फेहरिस्त प्रस्तुत गरे ।

कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथाकीले जनप्रतिनिधिहरु एकढिक्का भएर अघि बढेकाले कर्मचारीहरु पनि उत्तिकै जिम्मेवार र उत्तरदायी भएर अगाडि बढ्नुपर्ने बताए ।
नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले सञ्चालन गरेको कार्यक्रममा वडा नंं ५ का वडाध्यक्ष जयन्द्र खडका,नेपाली कांग्रेसका नगर सभापति शिवहरि केसी, नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोला, राप्रपाका रमेश अधिकारी, नेमकिपाका सन्तराम दुलाल र रास्वपाका रोशन थापालगायतले धारणा राखेका थिए ।