बकैया–४ का वडा अध्यक्ष दंगाल कारागार चलान

बकैया–४ का वडा अध्यक्ष दंगाल कारागार चलान


समयपथ
46
Shares

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकाका– ४ का वडा अध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । वडाध्यक्ष दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन ।

हिजो बुधबार जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको थियो । सो आदेशअनुसार वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि कारागार पठाइएको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए ।

वडा अध्यक्ष दंगालविरुद्ध गत असार दोस्रो हप्ता कागजात किर्ते गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । दंगाल ४ महिनापछि बुधवार अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पाससम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको र सो जग्गा हत्याउने प्रयास अनुसार कागजात किर्ते गरी प्रक्रिया अघि बढाइएको थियो ।