चितवन । विश्वमा देखिएका नयाँ रोगहरु मध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सरेको अधिकारीहरुले बताएका छन् । जुनोटिक रोगको जोखिम न्यूनीकरणका लागि ‘एक स्वास्थ्य अवधारणा’ विषयक अन्तक्रिया कार्यक्रममा सहभागी अधिकारीहरुले बताए अनुसार विश्वमा करिब ७० प्रतिशत रोगहरु जनावरबाट मानिसमा सरेको छ ।
विशेषगरी पछिल्लो समय कोभिड १९, इबोला, मर्स, रेविज जस्ता संक्रामक रोगहरु जनावरबाट मानिसमा परेको हो, जसले महामारिको रुप लिएको थियो । अधिकारीहरुले बताए अनुसार पाँच नयाँ रोगहरु मध्ये तीन वटा जनावरबाट मानिसमा सरेको देखिएको छ ।
कार्यक्रममा सरुवारोग अस्पताल टेकुका बरिष्ठ चिकित्सक डा शेर बहादुर पुनले जुनोटिक डिजिजको जोखिम भएको बताए । जनावरबाट मानिसमा सर्ने रोगलाई जुनोटिक डिजिज भनिन्छ । पछिल्लो समय स्यालले टोकेका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको पुनले बताए । बिगतमा मान्छे देख्दा भाग्ने स्यालहरु अहिले हुलमा आक्रमण गर्न हिडिरहेका छन् ।
डा पुनले पछिल्लो समय अस्पतालमा कुकुरले टोकेर आउने मानिसको संख्यामा पनि बृद्धि भएको बताए । ‘अहिले सरुवा रोग अस्पतालमा ९१ प्रतिशत मानिस कुकुरले टोकेर आउंँछन भने ५ प्रतिशत मान्छे बांँदरले टोकेर आएका छन, उनले भने ।’ त्यस्तै पुश चिकित्सक डा सविना मिश्राले पनि कुकुर भन्दा स्यालको जोखिम बढेको बताइन् । चीतवनमा स्याल हुल बाधेर हिड्ने र मान्छेलाई टोक्ने गरेको मिश्राले सुनाइन् । स्यालको टोकाइबाट रेविजको जोखिम अत्याधिक बढेका डा मिश्राको भनाई छ ।
अध्ययनहरुले बताए अनुसार विश्वमा हरेक रात ८ करोड भन्दा बढी मानिस भोकै सुत्छन् । त्यति मात्र हैन, विश्वमा अहिले जति मासुको आवश्यकता छ, २०५० सम्ममा त्यो दर ७० पतिशतले बृद्धि हुने देखिएको छ । तर, जनावरमा देखिएको रोगका कारण उत्पादन दर २० प्रतिशतले घटिरहेको छ । अधिकारीहरुले मानव–वन्यजन्तु बीचको अन्तरद्वन्द्वलाई कम गराउँन जरुरी भएको बताएका छन् ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानिस र वन्यजन्तुको सम्बन्ध नजिक भएकाले दुवै पक्ष जोखिममा रहेको बताए । स्वास्थ्यका हिसाबले जनचेतना पुग्न जरुरी भएको उनको तर्क रहेको छ । चितवन पाल्ट्रिको समेत हब हो, जसले गर्दा वान हेल्थको अवधारणा अनुसार अगाडी बढ्न जरुरी छ । हात्तिमा समेत मानिसमा भएको क्षयरोग पुष्टि भइसकेका कारण वन्यजन्तुका क्षेत्रमा काम गर्ने, वातावरण र कृर्षीमा काम गर्ने सबैलाई जोखिम न्यूनिकरणबारे जानकारी गराउँन आवश्यक भएको ढुंगानाले स्पष्ट पारे । आम नागरिकलाई सुसुचीत गराउँन नसके कुनै पनि बेला महामारिको रुप लिन सक्ने उनको बुझाइ छ । अध्यक्ष ढुंगानाले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि एक स्वास्थ्य अवधारणा महत्वपूर्ण रहेको स्पष्ट पारे ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले स्वस्थ पारिस्थितिक प्रणालीका लागि वन्यजन्तुको संरक्षण आवश्यक रहेको प्रष्ट पारे । उनले एक स्वास्थ्य अवधारणाको मूल कुरा मानव स्वास्थ्यलाई ध्यानमा राखेर पारिस्थितिक प्रणालीलाई कसरी स्वस्थ राख्ने भन्ने नै भएको धारणा व्यक्त गरे ।
पन्तले दुर्लव बन्यजन्तुको रुपमा रहेको एकसिंगे गैडा लगायतका अन्य वन्यजन्तुको संरक्षणका लागि घासे मैदान र पानीको स्रोत संरक्षण गर्न आवश्यक भएको बताए । जलवायु परिवर्तनले राष्ट्रिय निकुञ्जको जैविक विविधतामा समेत असर परेको बताए । उनले भने, प्लानेटरी स्वास्थको सुदृढ द्धारा स्वस्थ इकोसिस्टम बनाउन आवश्यक छ ।
वरिष्ठ पशु चिकित्सक डाक्टर कमलप्रसाद गैरेले करिब ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको बताए । यही अवस्थामा नेपालमा महामारी भए ठुलो क्षती व्यहोर्नुपर्ने बताए । डा सन्तोष दुलालले एक स्वास्थ्य अवधारणामा रही मावन, वन्यजन्तु बीचको अन्तरद्धन्द्ध र सह अस्तित्वको बिभिन्न दृष्टिकोणबारे जानकारी गराए । राष्ट्रिय निकुञ्जको वरिपरी बसोबास गर्ने मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुको अन्तरद्धन्द्ध न्यूनिकरणका विभिन्न रणनीतिहरु साथै सह अस्तित्वका आवश्यक रणनीतिहरु आवश्यक रहेको बताए ।
प्रतिक्रिया