काठमाडौँ ।
काठमाडौँको टोखा नगरपालिका ९ लक्ष्मीनगरबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा नुवाकोटको शिवपुरी गाउँपालिका ८ घर भई काठमाडौँको स्वयम्भु बस्ने २७ वर्षीय सुभाष तामाङ र धादिङको थाक्रे गाउँपालिका ८ का ३० वर्षीय संजय तामाङ रहेका छन् ।
बास्तविक नम्बर बागमती प्रदेश ०२-०२६ प ०३३७ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२२ प ६३९२ राखि सुभाषले चलाइरहेको अवस्था फेला पारी सोही मोटरसाइकलमा पछाडि सवार संजयलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल बझाङ घर भएका विजयराज उपाध्यायले गत मंसिर ४ गते काठमाडौँको किर्तीपुरबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त किर्तीपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया