मंगलवार भक्तपुरमा ३५० वर्षदेखिकाे सम्यक महादान पर्व हुने

मंगलवार भक्तपुरमा ३५० वर्षदेखिकाे सम्यक महादान पर्व हुने


समयपथ
0
Shares

काठमाडौं

प्रत्येक वर्ष झैं माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा बौद्ध परम्परा अनुसार सम्यक महादान पर्वका लागि भक्तपुरका शाक्य बज्राचार्यहरु व्यस्त हुन थालेका छन् ।
करिब ३५० वर्ष पहिलेदेखि चल्दै आएको सम्यक संघ भोजनदान पर्वको सञ्चालन चतुर्ब्रम्ह महाविहार अन्तरगतको तधिछें खलले यसपालि पनि व्यवस्थापन लागि व्यस्तता बढाएको छ । यस वर्ष पर्व सम्पन्न गर्ने पालो सप्त चन्द्र बज्राचार्य लगायत उनको परिवारको रहेको छ । पर्व सम्पन्न गर्ने पालो परेको परिवार जयकीर्ति महाविहारमा हप्तादिन अघिदेखि नै बसोबास गरी पर्वको लागि चाहिने विशेष प्रकारको पुरी, लड्डु तयार गरिएको छ ।

यस वर्ष पर्व अवलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान रहेको र करिब २ हजारलाई दान दिने योजना बनाइएको छ ।
काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा ३५० वर्ष भन्दा पहिलेदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ । भगवान दिपंकर बुद्धलाई अनुसरणगर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पर्व मनाउदै आएको छ । प्रत्येक वर्ष तधिछें खल भित्रको परिवारमा जेष्ठताक्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसंग सम्बन्धित धेरै कार्यहरु सम्पन्न गर्नु पर्ने हुन्छ ।
सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुर्ब्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको र त्यस पश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यस संगै लामवद्ध भएर बसेका सयौं बज्रँचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।
भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुर्ब्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्‌ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रमाणित इतिहास पाइन्छ । उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हँुदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास पनि छ ।