१९ हजार लाइन काटेर २२ करोड ८४ लाख उठाइयो

१९ हजार लाइन काटेर २२ करोड ८४ लाख उठाइयो

५ हजार लाइन जोड्न बाँकी ५० करोड बक्यौता यथावत


समयपथ
207
Shares


काठमाडौँ ।
नेपाल विद्युत् प्राधिकरणले एक महिनाको अन्तरालमा १९ हजार दुई सय ३२ जना ग्राहकको लाइन काटेर २२ करोड ८४ हजार रूपैयाँ असुल गरेको छ।
७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बक्यौता उठाउने हेतुका साथ लाइन काटेको भए पनि २२ करोड ८४ लाख मात्र उठेको प्राधिकरणको रेकर्ड रहेको छ ।
प्राधिकरणले १९ हजार दुई सय ३२ जना ग्राहकको लाइन काटेकोमा १४ हजार एक सय ११ जना ग्राहकको मात्र लाइन जोडिएको छ ।
प्राधिकरणले विद्युत महसुल नतिरेको भन्दै ती ग्राहकको लाइन काटेको हो।
लाइन काटेपछि ती ग्राहकहरूबाट २२ करोड ८४ लाख ५९ हजार रुपैयाँ असूल भएको र भुक्तानी गर्ने १४ हजार एक सय ११ जना ग्राहकको लाइन पुस महिनामै जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, अर्थ महाशाखाको तथ्यांकअनुसार सबैभन्दा बढी मधेश प्रादेशिक कार्यालयले ६ हजार ३६८ ग्राहकको बिजुली काटेको थियो । जसमध्ये तीन हजार ८६७ जनाले ८ करोड २५ लाख ९५ हजार रुपैयाँ बक्यौता तिरेका छन् । सो प्रदेशमा कुल १८ करोड ११ लाख ४ हजार रुपैयाँ उठाउने हेतुले लाइन काटेको थियो ।
कोशी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय विराटनगरका अनुसार सो प्रदेशमा तीन हजार २९१ ग्राहकको पुस महिनामा बिजुली काटिएको छ ।
उनीहरुसँग ३ करोड ५९ लाख ९५ हजार बक्यौता रहेको थियो । जसमध्ये दुई हजार ८४२ ग्राहकले ३ करोड २० लाख ८१ हजार रुपैयाँ बक्यौता बुझाएर पुनःलाइन जोडिएको छ । लाइन काटिए पछि ३ करोड २० लाख ८१ हजार रुपैयाँ उठेको प्राधिकरणले जनाएको छ ।
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले भने दुई हजार ४४० ग्राहकको बिजुली काटेको थियो । जसमध्ये दुई हजार १५१ ग्राहकले बक्यौता बुझाएका छन् । प्राधिकरणका अनुसार यही प्रदेशमा सवैभन्दा वढी बक्यौता रहेको थियो । सो प्रदेशमा ३८ करोड ८३ लाख ४५ हजार बक्यौता रहेको थियो । लाइन काटिएपछि भने बुटवल कार्यालयले करिब ३९ करोड बक्यौतामा ३ करोड ७६ लाख रुपैयाँ मात्र उठाउन सफल भएको छ । लुम्बिनीकै नेपालगन्ज प्रदेश डिभिजन कार्यालयले पनि छुट्टै १ हजार ६ सय ३३ वटा लाइन काटेको रेकर्ड रहेको छ । १ करोड ३१ लाख ६६ हजार रुपैयाँ उठाउने ध्येय राखेर लाइन काटिंदा ८ सय २१ वटा लाइन जोडिएको छ । लाइन जोडिएपछि ५८ लाख ७५ हजार रुपैयाँ उठेको जनाइएको छ ।
बागमती प्रदेश अन्तर्गत काठमाडौँ प्रादेशिक कार्यालयले १ हजार ५ सय ४८ लाइन काटेकोमा १ हजार २ सय ६९ वटा जोडेको छ । ३ करोड १० लाख २२ हजार उठाउनुपर्नेमा २ करोड ६५ लाख १२ हजार उठाइएको छ ।
प्रदेशको प्रादेशिक कार्यालय, पोखराले १ हजार २ सय ४८ लाइन काटेकोमा १ हजार ५४ लाइन जोडेको छ ।
१ करोड ७१ लाख २६ हजार १२१ रुपैयाँ बाँकी रहेकोले लाइन काटेकोमा १ करोड ११ लाख १८ हजार रुपैयाँ उठेको जनाइएको छ ।
कर्णाली प्रदेशको प्रादेशिक कार्यालय, सुर्खेतले १ हजार १ सय १२ लाइन काटेकोमा ८ सय २१ वटा लाइन जोडिएको छ । सो प्रदेशमा ५० लाख ५६ हजार ८९५ रुपैयाँ बक्यौता रहेकोमा ५८ लाख ७५ हजार रुपैयाँ असुली गरेको छ ।
सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको प्रादेशिक कार्यालयले ८ सय ८८ लाइन काटेर ५ सय ३ वटा लाइन जोडेको छ । २ करोड ५३ लाख ९५ हजार बक्यौता रहेकोमा ९८ लाख ८४ हजार रुपैयाँ उठाको छ ।