अध्यादेशमार्फत शासन गर्न थालेपछि प्रतिपक्षी दल रुष्ट

अध्यादेशमार्फत शासन गर्न थालेपछि प्रतिपक्षी दल रुष्ट


समयपथ
138
Shares

काठमाडौं ।
संसद अधिवेशन नबोलाइकन सरकारले अध्यादेशमार्फत शासन गर्न थालेपछि विपक्षी दल रुष्ट बनेका छन् । उनीहरुले यथाशिघ्र संसदको अधिवेशन बोलाउन माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सिंहदरबार स्थित दलको कार्यालयमा बुधबार बसेको बैठकले अधिबेशन बोलाउन माग गरेको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले विपक्षी दलहरुको निर्णयको बारेमा बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए ।
प्रतिपक्षी दलहरुको बैठकले सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको निस्कर्षसहित तत्काल संसदको हिउँदे अधिवेशन आहवान गर्न दबाब दिने निर्णय भएको पुनले जनाएका छन् ।
बैठक पछि आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताए । वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवं अनैतिक तवरले भएको टिप्पणी उनको छ ।
सरकारले संसद्को बैठक नबोलाएर अध्यादेशमार्फत शासन गर्न थालेकोले दबाब दिन आवश्यक रहेको उनले बताए । ‘जनताबाट डराए कै कारण यो वर्ष प्रधानमन्त्रीले लोसार, माघे सङ्क्रान्ति जस्ता उत्सवका साथै एनपिएल तथा सार्वजनिक समारोहमा सहभागी हुन छाडेका छन् । सरकारले विकास भन्दा भ्रष्टाचारमा केन्द्रित छ । सरकार विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लाग्यो । त्यसैले संसद् अधिवेशन बोलाउन हामीले माग गर्नुपर्छ’ साहले भने ।
सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाइ छ । सरकारले अहिले विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लागेको आरोपसमेत उनले बताए ।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), आम जनता पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) सहित विपक्षी दलका नेता सहभागी थिए ।

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा रहेका दल एवं सरकारलाई समर्थन गरेको दल पनि विपक्षी मोर्चामा आउने जानकारी बैठकमा गराएका छन् ।
पछिल्लो समसामयिक विषयको बारेमा जानकारी गराउँदै अध्यक्ष नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताउँदै विपक्षी दलहरू एकजुट हुनुपर्ने तर्क गरे । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी विपक्षी मोर्चामा आउँने जानकारी अध्यक्ष नेपालले गराएका छन् ।