राष्ट्रपतिद्वारा निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्ग अवलोकन

राष्ट्रपतिद्वारा निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्ग अवलोकन


समयपथ
69
Shares

काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको हवाई तथा स्थलगत अवलोकन गरेका छन् ।
राष्ट्रपतिले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिंदै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल तथा स्लाेप प्राेटेक्सनका साथै आयोजनाको विभिन्न स्थानहरुको हवाई अवलोकन गरेका थिए ।


अवलोकन भ्रमणका अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल, आयोजना प्रमुख, मध्य पृतनापति, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ भने महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न हुनुका साथै चन्द्रामभिर स्थित सुरुङको निर्माण कार्य सुरु भएको छ र अन्य ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भई रहेको छ ।
त्यस्तै, उक्त आयोजनामा निर्माण गर्नु पर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य भई रहेको छ भने ५ वटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ ।
काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको छ ।