चितवन ।
लगातार एमालेमा पार्टी प्रवेश गरेर हैरानी खेपिरहेकाे एकीकृत समाजवादीलाई कार्यगत सहयात्रा गरिरहेकाे माओवादी केन्द्रले पनि धक्का दिएकाे छ ।
एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा सयाैं कार्यकर्ता माओवादी केन्द्र प्रवेश गराएर धक्का दिएकाे हाे ।
दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्यसमेत थिए।
त्यस्तै, एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरू राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
यसबारे अध्यक्ष प्रचण्डले आफूहरू एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र विपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने जिकीर गरे ।
यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाएकाे दावी प्रचण्डले कार्यक्रममा गरेका थिए।
माओवादी केन्द्र चितवनले गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताए।
अध्यक्ष प्रचण्डले अहिले देशभरी माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए।
आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको भन्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए।
प्रतिक्रिया