काठमाडौं । कैलालीको टीकापुरमा तीनदिने ‘टीकापुर साहित्य महोत्सव, २०८१’ आयोजना हुने भएको छ। फागुन २४ देखि २६ गतेसम्म सञ्चालन हुने महोत्सवको दोस्रो संस्करणलाई ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको छ।
साहित्य महोत्सवका संयोजक एवं साहित्यकार महेशविक्रम शाहका अनुसार महोत्सवमा २१ सत्रहरू सञ्चालन हुनेछन्। लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट महोत्सवको शुभारम्भ हुनेछ भने प्रा. डा. अभि सुवेदीको विशेष अभिव्यक्ति रहनेछ।
महोत्सवमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रन्जना निरौला, सुमन वर्षा घिमिरे, प्रभा बराललगायतका साहित्यकारले नेपाली आख्यानका विविध पक्षमाथि बहस गर्नेछन्।
त्यस्तै, विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनका विषयमा विचार-विमर्श गर्नेछन्।
गैरआख्यानकार तथा समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा. व्रतराज आचार्य, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति डा. अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यका विभिन्न पक्षमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।
साहित्यका साथै महोत्सवमा वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारु संस्कृति, विकास, पर्यटन, दलितका मुद्दा, जीवन दर्शन, नेपाली चलचित्र तथा टीकापुरका चुनौती र अवसरलगायत विषयमा बहस गरिनेछ।
प्रतिक्रिया