अबको शिक्षा उद्यमशील र प्रतिस्पर्धात्मक हुनुपर्छ: प्रधानमन्त्री ओली

अबको शिक्षा उद्यमशील र प्रतिस्पर्धात्मक हुनुपर्छ: प्रधानमन्त्री ओली


समयपथ
138
Shares

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षाले उद्यमशीलता सिर्जना गर्न सक्नुपर्ने र प्रतिस्पर्धात्मक बन्नुपर्ने बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शिक्षा व्यवहारिक, नवीन र स्वदेशमै अवसर सिर्जना गर्ने खालको नभए देश नै पछि पर्ने चेतावनी दिए।

प्रधानमन्त्री ओलीले शिक्षाले मुलुकका स्रोतसाधनलाई उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्न आवश्यक रहेको उल्लेख गरे। “जुन देशले आफ्ना स्रोतसाधनलाई परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, त्यो देश विकासको दौडमा पछाडि पर्ने निश्चित छ,” उनले भने।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, उत्तरदायित्वबोध र मानवतावादी दृष्टिकोण राख्न आग्रह गरे। “अब पुँजीवाद र समाजवादका बहसमा मात्र अल्झिनु हुँदैन, मानवतावाद नै सबैभन्दा महत्वपूर्ण हो,” उनले थपे।

प्रधानमन्त्री ओलीले लाखौं विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जानु चिन्ताजनक रहेको बताउँदै सरकारले व्यवस्थित शिक्षा, रोजगारी सुरक्षाका उपाय र स्वदेश फिर्ती नीति प्राथमिकतामा राखेको बताए।

“आज देशका कर्णधारहरू विदेशी विश्वविद्यालयमा पढ्न जान बाध्य छन्। तर, अब सरकारले शिक्षा प्रणालीलाई सुधार गर्दै स्वदेशमै अवसर सिर्जना गर्नेछ,” उनले भने। कर्णाली प्रदेशबारे बोल्दै उनले कर्णाली सभ्यता, इतिहास र प्राकृतिक स्रोतसाधनले धनी रहेको भन्दै यसको अनुसन्धान र प्रयोगको आवश्यकता रहेको बताए। “कर्णाली तेल खानी र जडीबुटीको खानीले भरिपूर्ण छ। यसको उपयोगबारे अझै खोज अनुसन्धान गर्न आवश्यक छ,” प्रधानमन्त्री ओलीले जोड दिए।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई डिग्री प्राप्त गरेर मात्रै सीमित नहुने, बरु नवीनतम कार्य गर्दै देशमै अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए। उनले नयाँ पुस्ताले प्रतिस्पर्धात्मक र नवप्रवर्तनशील सोच राखेर देशलाई समृद्धितर्फ अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।