सिरहामा महायज्ञको नाममा घर भत्काइएका मलिक परिवार विस्थापित

सिरहामा महायज्ञको नाममा घर भत्काइएका मलिक परिवार विस्थापित


समयपथ
0
Shares

सिरहा, ९ चैत – सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजनाको नाममा घर भत्काइएका दीपक मलिकको परिवार असुरक्षाका कारण विस्थापित भएको छ।

शुक्रबार गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुपेश यादव केही मानिससहित मलिक परिवारलाई जिल्ला प्रहरी कार्यालयमा गएर आफूहरूलाई कुनै समस्या नभएको बयान दिन दबाब दिएका थिए।

असुरक्षित महसुस गरेपछि दीपककी श्रीमती अनिता मलिक आफन्तकहाँ बस्न गएकी छिन् भने दीपक गाउँकै एक व्यक्तिको घरमा आश्रय लिएका छन्। उनका छोराछोरी सुरक्षाका कारण नजिकैको प्रहरी चौकीमा रात बिताएका थिए।

सिरहा प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार मलिक परिवारलाई सुरक्षित स्थानमा राखिएको छ। घटनापछि गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलीप यादवलाई पक्राउ गरिएको छ भने औरही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

गत फागुन १० गते महायज्ञ आयोजना स्थल बनाउने भन्दै गाउँपालिका अध्यक्षकै नेतृत्वमा डोजर लगाएर मलिकको घर भत्काइएको थियो। हाल मलिक परिवारको घर सुरक्षाका लागि दुई दर्जन प्रहरी परिचालन गरिएको छ।