मुस्ताङ – हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको ज्यान गएको छ। विसं २०८१ को वैशाखदेखि हालसम्म ९ विदेशी तथा २ नेपाली पर्यटकले लेक लागेर ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिर दर्शन तथा मुस्ताङ भ्रमणका क्रममा मृत्यु भएको छ। पाँच जनाले वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाले घरपझोङ–४ जोमसोममा, र एक जनाले थासाङ गाउँपालिका–२ मा लेक लागेर ज्यान गुमाएका छन्। मृतक पर्यटकहरूको उमेर ५८ देखि ८१ वर्षसम्मको रहेको छ।
२०८१ सालमा वैशाखमा २, जेठमा १, असोजमा २, कात्तिकमा ५, र पुसमा १ जनाले लेक लागेर ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा एक ६३ वर्षीय अमेरिकी नागरिक समेत रहेको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।
यसअघि २०८० सालमा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए, जसमा ११ जना विदेशी तथा ६ जना नेपाली नागरिक थिए।
लेक लाग्ने समस्याबारे जनचेतना फैलाउन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह, तथा प्रदेश अस्पताललगायत निकायहरूले प्रचारप्रसार अभियान, पर्चा–पम्प्लेट वितरण, वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
विशेषगरी समुद्री सतहबाट ३,८०० मिटर उचाइ पुगेपछि लेक लाग्ने समस्या देखिन्छ। ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त, तथा दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई विशेष जोखिम रहने जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया