रुपन्देही : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताएका छन्। उनले उद्योगी–व्यवसायीहरूलाई लुम्बिनीमा लगानी गर्न आग्रह गरेका छन्।
कान्तिपुर मिडिया ग्रुपद्वारा भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक विमर्श कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले लुम्बिनीको आर्थिक, औद्योगिक र पर्यटन सम्भावना उच्च रहेको बताए। “लुम्बिनी नेपालको अर्थतन्त्रलाई उचाइमा पुर्याउन सक्षम छ। यहाँ लगानी गर्नेहरूले घाटा बेहोर्नु पर्दैन, राम्रो नाफा कमाउन सक्छन्,” उनले भने।
उनका अनुसार लुम्बिनीले शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य र औद्योगिक क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सक्छ। भगवान गौतम बुद्धको जन्मस्थलका रूपमा धार्मिक पर्यटनको केन्द्र रहेकाले विकासका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको उनले बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गरे। “सुरुमा विमानस्थल आवश्यक छ कि छैन भन्ने बहस थियो। अब भने विमानस्थल बनिसकेको छ, पूर्ण क्षमतामा सञ्चालन हुन समय लाग्छ भन्ने प्रश्न उठाइएको छ। तर, यो सत्य होइन, हामी छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउँछौं,” उनले भने।
उनका अनुसार विमानस्थलको टर्मिनल सानो भएकाले त्यसलाई आन्तरिक टर्मिनलका रूपमा प्रयोग गरिनेछ र अन्तर्राष्ट्रिय उडानका लागि नयाँ टर्मिनल बनाइनेछ।
“यो विमानस्थल नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछ,” उनले दाबी गरे। अन्तर्राष्ट्रिय उडान प्रोत्साहित गर्न एयरलाइन्सहरूका लागि विशेष छुट तथा प्रोत्साहन प्याकेज ल्याउने योजना रहेको जानकारी उनले दिए।
उनले हाल सातामा १५ अन्तर्राष्ट्रिय उडान भइरहेको बताउँदै निकट भविष्यमा सो संख्या बढाउने योजना रहेको उल्लेख गरे। “हामी आलोचनालाई सकारात्मक रूपमा लिन्छौं, विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन गरेर देखाउनेछौं,” उनले थपे।
प्रतिक्रिया