काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको अराजक घटनाका नाइके पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको बताएका छन्। शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौँ महाधिवेशन उद्घाटन गर्दै देउवाले शाहलाई “सुध्रिने स्वभावकै मानिस नभएको” टिप्पणी गरे।
“ज्ञानेन्द्र अहिले नै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने प्रस्ट भइसकेको छ। उनी सुध्रिने मानिस होइनन्,” देउवाले भने। उनले पूर्वराजालाई लोकतान्त्रिक प्रणाली स्वीकार गर्न नसक्ने व्यक्ति भन्दै “उनी राजा बन्ने स्वभावकै होइनन्” भन्ने दाबी गरे।
देउवाले लेखक, पत्रकारहरूलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएर कलम चलाउन आह्वान पनि गरे। शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भीडले निजी र सार्वजनिक सम्पत्तिमा आगजनी, औषधि कारखाना तथा सञ्चारगृहमा तोडफोड गरेका थिए। साथै व्यापारिक केन्द्रमा लुटपाटसमेत भएको थियो। राजनीतिक पृष्ठभूमिमा फर्कँदै देउवाले “ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न कहिल्यै चाहेका थिएनन्, गणतन्त्र अब उल्टिने छैन” भन्दै प्रष्ट सन्देश दिए।
प्रतिक्रिया