काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ, जसले होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरूलाई चिन्तित बनाएको छ।
विमानस्थल कार्यालयका अनुसार अप्रिल १ देखि कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडान तालिका पेश गरेका छैनन्। हालसम्म नियमित उडान गर्दै आएका जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले पनि सोमबारदेखि उडान रोकेका छन्।
सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग छलफल जारी रहेको र चाँडै नियमित उडान सुचारु गर्ने प्रयास भइरहेको विमानस्थल प्रशासनले जनाएको छ।
यता, सरकार भैरहवा तथा पोखराका अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्कमा पूर्ण छुट दिँदै आएको छ। साथै, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७४ प्रतिशत छुट तथा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर सहुलियत दिइएको छ।
प्रतिक्रिया