सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने भैरहवा कारागार चलान

सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने भैरहवा कारागार चलान


समयपथ
0
Shares

बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी प्रकरणमा थुनामा राख्ने उच्च अदालतको आदेशपछि आज जिल्ला कारागार भैरहवा पठाइएको छ।

शुक्रबार राति काठमाडौंस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते बिहान यति एयरलाइन्सको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो। दुई दिनको सरकारी विदाका कारण हिरासतमा बसेका उनलाई आज जिल्ला अदालत रुपन्देहीमा थुनुवा पुर्जी दिई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उक्त आदेश न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट जारी भएको हो।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, तर उच्च अदालतले त्यस आदेशलाई बदर गर्दै थुनामा राख्न आदेश दिएको हो।

उच्च अदालतको आदेशमा अदालतले धरौटी वा थुनाको विकल्प चयन गर्दा मुद्दाको प्रकृति, आरोपको गम्भीरता, घटनाको अवस्था र पीडितको हितजस्ता पक्षहरूको सापेक्षता हेर्नुपर्ने व्याख्या गरेको छ।

अब अदालतको अन्तिम फैसलासम्म रवि लामिछाने भैरहवा कारागारमा रहने छन्।