स्वास्थ्य बिमा बोर्डलाई बक्यौता तिर्न हम्मेहम्मे

स्वास्थ्य बिमा बोर्डलाई बक्यौता तिर्न हम्मेहम्मे


समयपथ
92
Shares

१६ अर्ब ४५ करोड रुपैयाँ बक्यौता बाँकी


काठमाडौं
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा ५ लाख रुपैयाँको पुर्‍याउने घोषणा गरिरहँदा स्वास्थ्य बिमा कोषलाई भने बक्यौता तिर्न हम्मेहम्मे भइरहेको छ ।
देशका ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुगेपछि जसरी व्यवस्थापनमा समस्या देखिएको थियो, त्यसरी नै स्वास्थ्य संस्थाहरूलाई तिर्नुपर्ने दायित्वको बोझ पनि बढ्दै गएको हो ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षणको अवधिसम्म बोर्डले कायम गरेको बेरुजु २ अर्ब ८५ करोड २४ लाख ८९ हजार ४ सय ५९ रुपैयाँ पुगेको छ । बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिएको छ ।
चालू आवको फागुन मसान्तसम्ममा स्वास्थ्य बिमा बोर्डमा १ अर्ब रुपैयाँ मात्र रहेको छ । भुक्तानी दिनुपर्ने रकम भने १६ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । चालू आवको अन्तिममा यो दायित्व बढेर २४ अर्ब पुग्ने देखिएको छ ।
अहिले दैनिक ३० देखि ४० हजारको संख्यामा दाबी आइरहने र रुजु गर्ने क्षमता ६ देखि ७ हजारको मात्रै रहेको भनाइ स्वास्थ्य बिमा बोर्डको रहेको छ । स्वास्थ्य बिमामा प्रतिपरिवारले गर्ने औषत प्रिमियम भुक्तानी ३ हजार ८ सय रुपैयाँ छ । तर, स्वास्थ्य बिमाबाट प्रतिपरिवारले लिएको सेवाको औषत भुक्तानी ८ हजार ३ सय ५० रुपैयाँ देखिएको छ । यसले मेडिकल घाटा अनुपात २ सय २० प्रतिशत हुन आउने स्वास्थ्य बिमा बोर्डको भनाइ छ ।
स्वास्थ्य बिमा गर्नेमध्ये १० देखि १२ प्रतिशतले मात्र सेवा लिएको खण्डमा खर्च धान्न सजिलो हुने अवस्था रहेकामा अहिले ४८ प्रतिशतले सेवा लिने गरेका छन् ।
चालू आवको फागुनसम्मको तथ्यांकले स्वास्थ्य बिमा छाड्नेको दर ५४ प्रतिशत रहेको देखाएको छ । स्वास्थ्य बिमामा आबद्ध भइसकेका व्यक्तिमा छाड्ने दर उच्च हुनु भनेको कारण पहिचानमा समस्या हुनु हो ।
स्वास्थ्य बिमा कोषमा विमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । चालू आवमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ तर प्राप्त हुने रकम स्वीकृत बजेटकोे एक तिहाइ मात्र हुने देखिएको छ ।
अहिले स्वास्थ्य बिमा ७७ जिल्लाको ७ सय ४९ वटा स्थानीय तहमा विस्तार भएको छ । कार्यक्रम लागू भएदेखि हालसम्म कुल ८९ लाख ५२ हजार १ सय ३५ जना व्यक्ति स्वास्थ्य बिमामा आबद्ध भएका छन् । आव २०८१/८२ को फागुन मसान्तसम्ममा क्रियाशील बिमितको संख्या ५७ लाख ५३ हजार ८ सय १७ रहेको छ जुन कुल जनसंख्याको २० प्रतिशत हो । जसमध्ये सामान्य क्रियाशील बिमित ४३ लाख २ हजार ७ सय ९ रहेका छन् । कुल बिमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बिमित १४ लाख ५१ हजार १ सय ८ रहेका छन् ।
आव २०७४/७५ मा कुल क्रियाशील आबद्ध घरधुरी २ लाख ३८ हजार ४ सय ९२ रहेको र आव २०७८/७९ मा क्रियाशील आबद्ध घरधुरी संख्या बढेर १४ लाख २६ हजार १ सय ३१ पुगेको थियो । आव २०८१/८२ को फागुन मसान्तसम्ममा ज्येष्ठ नागरिकबाहेक कुल आबद्ध घरधुरी ९ लाख ८२ हजार ६२ अर्थात् १५ प्रतिशत र ज्येष्ठ नागरिक समावेश गरी २० लाख ७५ हजार ७ सय परिवार स्वास्थ्य बिमामा क्रियाशील छन् । यो कुल घरधुरीको जम्मा ३१ प्रतिशत हो ।
बिमित हुनेको संख्या कोशी प्रदेशमा कुल जनसंख्याको ३३ प्रतिशत, बाग्मतीमा २६ प्रतिशत, गण्डकीमा ३४ प्रतिशत र लुम्बिनीमा १४ प्रतिशत रहेकामा मधेश, कर्णाली र सुदूरपश्चिममा बिमितहरू क्रमशः ७ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशत रहेका छन् । यसरी हेर्दा बिमामा संलग्नताको प्रदेशगत असन्तुलन उच्च देखिएको छ ।
स्वास्थ्य बिमा बोर्डले स्वेतपत्र जारी गर्दै स्वास्थ्य बिमाका विद्यमान प्याकेजको पुनरावलोकन गरी थप फराकिलो बनाइने जनाएको छ । जटिल प्रकृतिका उपचारमा प्राप्त हुने सुविधा थप गरिने उल्लेख गरिएको छ । सबै बिमितको सुविधाको थैली वृद्धि गरी व्यक्तिले उपचारमा गर्नुपर्ने खर्च घटाउँदै लगिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।