छिमेकी

छिमेकी


समयपथ
805
Shares

खुबै धेर मान्छे सबै छन् नजाती
लजाउन्न स्वार्थ कहाँ को छ जाती ?
बसोबास गर्ने खसोखास जम्मै
धरोधर्म भद्दा अनाडी छ मान्छे । १ ।

कमाएर खाने जमाई रजाइँ
ठुँगी दाम साँच्ने नहुन् दाजु–भाइ !
छिमेकी सँगैका बसून् आत जोडी
भनेको यहाँ मित्रता लाग्छ ढोँगी ।२।

यहाँ खै कहाँ को छ त्यो शुद्ध मान्छे ?
बटुल्दैछ ऊ युद्ध भै क्रुद्ध मान्छे ।
बिटो दाम–पैसा कमोस् चल्छ होड
नभै प्रेम सद्भावना दुख्छ रोज ।३।

बजाएर काखी लगाएर ताली
खुसी भो लिलामी कहाँ रोजगारी !
नहाँसून् म दुख्ता सघाओस् समाज
नपालून निराशा नहुन् वैरभाव ।४।

खुराफातघारी नहोऊन् छिमेकी
भला मार्गद्रष्टा भनून् लाख चोटि !
सताएर बिज्ने नहुन् खील काँडा
लडाएर हास्ने नहुन् भीर–डाँडा ! ।५।

बढून् होस श्रद्धा दया प्रेममाला
रमाऊन् छिमेकी नहोस् कुम्भ मेला
नहुन् क्लान्त क्रोधी महाभ्रान्त रोगी
जहाँ सान्त्वना शब्द हुन् मर्मभेदी ।६।
०००
–पदम दाहाल
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।