नीति–कार्यक्रममाथि असन्तुष्टि जनाउँदै मौन बसे एमाले सांसद

नीति–कार्यक्रममाथि असन्तुष्टि जनाउँदै मौन बसे एमाले सांसद


समयपथ
46
Shares

एमाले सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो ।

सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे । त्यसमाथि संसद्‌मा प्रतिक्रिया दिने क्रम चलिरहेको बताए ।

आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे । उनलाई ५ मिनेटको समय दिइएको थियो । समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भए । विश्वकर्मा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।

विश्वकर्मा माओवादी पृष्ठभूमिका नेता हुन् । उनी माओवादीबाट दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग गरिदिएपछि विश्वकर्मा एमाले प्रवेश गरेका हुन् । ४ मंसिर २०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए ।

यही निर्वाचन प्रणाली अन्तर्गत उनी निर्वाचित भएका हुन् । सांसद विश्वकर्माले विगतका वर्षहरूमा भने सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि भाग लिने गरेका थिए । उनी सांसदको सुझाव कार्यान्वयन कम हुने गरेको भनेर असन्तुष्टि जनाउने गर्दथे ।

अघिल्लो वर्ष २९ जेठ २०८१ मा उनी प्रतिनिधि सभाको बैठकमा बोलेका थिए । त्यसबेला उनले संविधान कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका थिए ।