भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदा मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर क्रुर हत्या गर्ने आतंककारीलाई कडा जवाफ दिइएको बताएका छन् ।
भारत–पाकिस्तान युद्धविरामपछि सोमबार बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले आफूहरूको बहिनी, छोरीको शिरबाट सिन्दुर हटाउनुको नतिजा के हुन्छ भनेर आतंककारीलाई कडा जवाफ दिएको बताएका हुन् । उनले सुरक्षा बलको उच्च प्रशंसा गर्दै अपरेशन सिन्दूर केवल एउटा नाम मात्र नभएर जनताको भावनाको प्रतिबम्ब समेत भएको बताए ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले युद्धको दौरान पाकिस्तानलाई धुलो चटाएको दाबी समेत गरे । उनले भारतको आक्रमणमा परी एक सयभन्दा बढी खुंखार आतंकवादी मारिउको र उनीहरुको हेडक्वार्टरलाई उजाड गरिदिएको पनि बताए । उनले पानी र रगत एक साथ बग्न नसक्ने भन्दै पाकिस्तानसँग वार्ता भए आतंकवादमाथि हुने जिकिर पनि गरे ।
भारत प्रशासित जम्मु कश्मिरमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको थियो ।
पाकिस्तानमा भारतको हमलापछि इस्लामावादले पनि जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई देशबीचको तनाव उत्कर्षमा पुगेपछि अमेरिकासहितका राष्ट्रहरूको मध्यतामा दुवै पक्षबीच युद्धविराम भएको छ । दुई मुलुकबीच तटस्थ स्थानमा वार्ता हुने भनिएको छ ।
प्रतिक्रिया