लोक कल्याणकारी राज्यको हैसियतमा हाम्रा विधिवेत्ताहरुले विगतदेखि नै “विचार र अभिव्यक्तिको स्तन्त्रता”, “सूचनाको हक” लगायत सम्भाव्य नागरिक तथा मानवीय अधिकारलाई संविधानका पुस्तकहरुमा समाविष्ट गर्दै आएको पाइन्छ । जस अनुरुप समाजका अगुवाहरुले आम जनतालाई सु–सूचित गर्ने कामलाई पूर्ण इमान्दारीका साथ उपलव्ध साधन र स्रोतका आधारमा योगदान पुर्याउँदै आएका छन् ।
शासक नियन्त्रित शासन प्रणालीको अनुदार अनुशासन, विचार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा संविधान वा कानुनमा जे जस्ता वाक्य र शव्द प्रयोग गरिए पनि व्यावहारिक रुपमा हाम्रो पत्रकारिताले सत्ताको नियन्त्रण खेपिरहनु पर्यो । टाउकोमाथि सत्तास्वार्थको तरवार झुण्डिरहेको अवस्थामा पनि हाम्रो पत्रकारिताले आफूलाई जीवित राख्दै आयो । आफ्नो ध्येयबाट विचलित भएन । जहाँनिया राणा शासनको विरोध, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त र प्रजातन्त्रको स्थापना, पूर्ण लोकतन्त्र प्राप्तिका लागि राजतन्त्रको अन्त लगायतका मूलभूत परिवर्तनका लागि नेपाली प्रेस जगतले गरेको सङ्घर्ष इतिहासमा अँकित छ ।
विक्रम सम्वत् २००७ साल अघि साप्ताहिक, अर्ध साप्ताहिक हुँदै आएको सरकारी मुखपत्र “गोरखापत्र” र यदाकदा देशभित्र र बाहिरबाट प्रकाशन भएका केही समाचार प्रधान र केही साहित्यिक पत्रपत्रिकाको सूचीमा आम सञ्चारको विद्युतीय माध्यम “रेडियो नेपाल” जनता सामु आयो । सँगसँगै केही दैनिक र साप्ताहिक छापा माध्यम पनि बजारमा देखा परे । वि.सं.२०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि श्रव्यदृश्य माध्यमको शुरुवात भयो ।
वि.सं.२०४६ सालको जनआन्दोलनले तत्कालीन राजनीतिक प्रणालीलाई नै विस्थापित गरेर राजनीतिक विचारधाराका आधारमा राज्य व्यवस्था सञ्चालन हुने प्रजातान्त्रिक संसदीय व्यवस्था अपनाएपछि भने नेपाली प्रेस जगतमाथिको नियन्त्रण खुकुलो हुन थाल्यो । वि.सं. २०५१–०५२ पछि सरकारले रेडियो प्रसारणमा रहेको सरकारी एकाधिकारको अन्त गर्दै जनताको स्वामित्वमा समेत रेडियो स्थापना, सञ्चालन हुने गरी एफ.एम. रेडियो प्रसारणको थालनी गर्यो । परिणामतः गाउँगाउँमा आम नागरिकको स्वामित्वमा एफ.एम. रेडियो स्थापना र सञ्चालन गर्न आरम्भ भयो । २०५८ च्यानल नेपाल नामको टेलिभिजन स्थापना र प्रसारण शुरु भएपछि निजी क्षेत्रमा टेलिभिजन युग शुरुवात भयो ।
टुप्पामा अक्षर खोपिएका फलामका स–साना टुक्रा आपसमा जोडेर, धागोले बाँधेर एउटा ट्रेमा राखिएका ती अक्षरलाई कागजमा रगडेर छाप्ने प्रविधि आज अत्याधुनिक विद्युतीय उपकरण र दक्ष, उर्जाशील जनशक्तिबाट पोषित छ । “गिद्धे प्रेस” र “गोरखापत्र” नामबाट मुद्रित कागजलाई पत्रिका मानेर आएको हाम्रो पत्रकारिताको इतिहास छापा पत्रकारिताबाट शुरु भएर रेडियो, टेलिभिजन लगायतका विद्युतीय सञ्चार माध्यम हुँदै अहिले विद्युतीय सञ्चार माध्यम “अनलाइन” पत्रकारितामा आइपुगेको छ ।
दृष्टिविहिनले हात्ती छामे झै पेशागत कखरा जान्ने सिक्ने अवसर नपाएका नेपाली पत्रकारिताका पूर्वजहरुले देश र जनतालाई केन्द्रमा राखेर समयानुकूल सकारात्मक परिवर्तनका लागि आफूलाई समर्पित गर्दै आएको कुरा बिर्सन सकिँदैन । स्रोत, साधन, प्रविधि र जनशक्तिको दृष्टिले विगतको त्यो दुरुह अवस्थाबाट हाम्रो पत्रकारिता सबै कुराबाट समृद्ध आजको यो अवस्थामा आइपुगेको छ । समाजमा धनाढ्य साहुकारहरु छन् । अत्याधुनिक प्रविधि छ । सुशिक्षित जनशक्ति छ । जनताको आकाँक्षा छ । लेख्नु पर्ने, बोल्नु पर्ने, भन्नु पर्ने, वकालत गर्नु पर्ने विषय थुप्रै छन् । त्यही भएर होला, गुणात्मकताको दृष्टिले बेलाबखत आलोचित हुने गर्छ हाम्रो पत्रकारिता ।
हामी किन ?
यसै मेसोमा “समयपथ अनलाइन” विद्युतीय सञ्चारमाध्यम तपाईकहाँ लिएर आएका छौं । नियमित । देश र जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर “जनताको आकाँक्षा परिपूर्ति र राष्ट्रिय हित सम्बद्र्धन”को आदर्श मन्त्रप्रति सदा समर्पित रहने गरी । राजनीतिक परिवर्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश,विश्व बजार व्यवस्था लगायत विविध विषय र क्षेत्रसँग सकारात्मक तालमेल गरेर समृद्धिको उज्यालोतर्फ देश र जनतालाई अग्रसर हुन अभिप्रेरित गर्ने कर्तव्य बोधसहित “समयपथ अनलाइन” पत्रकारिताको मूल प्रवाहमा मिसिन आइपुगेको छ । यस कार्यमा तपाईको सद्भाव अनि साथसहयोग अपरिहार्य छ ।
समयपथ डटकमको उपस्थितिले नेपाली मिडिया जगतमा प्रभावकारी भूमिका खेल्ने कुरामा पाठक र विज्ञापनदाता,सुभेच्छुक र शुभचिन्तकहरुलाई विश्वस्थ बनाउन चाहान्छौं । पत्रकारिताको मर्म र पाठकहरुको आकांक्षालाई परिपूर्ति गर्न हामी सदैव प्रयत्नरत रहने छौं ।